सुवास आचार्य
बागलुङ, २५ चैत्र
चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाउन सफल बागलुङका विनायक शर्मालाई सम्मान गरिएको छ । विघामन्दिर माध्यमिक विघालय कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेका शर्मालाई विद्यालयले शुक्रबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।
सामुदायिक विद्यालयमा पढेर एमबीबीएस अध्ययनको लागि पूर्णछात्रवृत्ति पाउने शर्मा साविक धौलागिरि क्षेत्रबाट पहिलो भएको विद्यालयले प्रधानाध्यापक शान्तामणि ढकालले जानकारी दिए । शर्मालाई नगद २५ हजारसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले सबै विद्यार्थीहरुलाई कसरी उत्कृष्ट र सफल बनाउने भन्ने बारेमा सबैले सोच्नुपर्ने बताउनु भयो ।
उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि र सिकाइ उपलब्धी बढाउनको लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै शिक्षा सुधारका लागि विभिन्न सरोकारवाला निकायहरुले एक अर्कालाई दोष दिनुभन्दा जिम्मेवार भएर आफै सुधारका लागि लाग्न सुझाव दिनु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा,विद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीले शर्माको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणामा सकारात्मक परिवर्तन गराउन सहयोग पुग्ने बताए । सम्मान कार्यक्रममा बोल्दै विद्यार्थी विनायक शर्माले राम्रो अंक लिएर पास गर्ने सोँचले धेरै मेहेनत गरेकोले आफू सफल भएको भन्दै छात्रवृत्ति पाउँदा थप मेहेनत गर्ने ऊर्जा मिलेको बताए ।
विद्यार्थीको भविष्य असल शिक्षकको हातमा भएकोले सृजनशिल मेहनती शिक्षक र अनुशासित विद्यार्थी भयो भने शैक्षिक नतिजा उत्साहपूर्ण आउने विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।
विज्ञान संकायका शिक्षकहरुलाई धन्यवाद दिदै, विनायक शर्मा जस्ता मेधावी विद्यार्थी उत्पादन गर्न सबैले कोशिस गरे परिणाम ल्याउन सकिने अध्यक्ष शाक्यले भने ।विनायक शर्मा अध्ययनशिल र मेहनती विद्यार्थी भएकोले उनले पूर्णछात्रवृत्ति पाएर विद्यालयको नाम राखेको प्रधानाध्यपक शान्तामणि ढकालले बताए । उनले आफना सहपाठिहरुलाई पनि पढाएको देख्दा आफू साह्रै खुशी भएको विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यक शान्तामणि ढकालले बताए ।
मेरो सफलताको लागि परिवार,विद्यालय र शिक्षकको महत्वपूर्ण योगदान भएको शर्माले भने । सोही अवसरमा विद्यालयको भौतिक र शैक्षिक विकासमा विशेष योगदान पु¥याउने विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा भवन निर्माण समितिका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी,विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा भवन निर्माण समितिका पूर्वउपाध्यक्ष सुभासचन्द्र राजभण्डारी,समाजसेवी देव बहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य जशोदा शर्मा र सम्मानित विद्यार्थीका वुवा रवि शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक शान्तमणि ढकालको स्वागत र शिक्षक कुलराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।